Sunday, November 22, 2009

अब सबैको इ्चछा पूरा हुँदैछ


करिब ११ करोड रुपैयाँको लगानीमा अमेरिकी फास्टफूड सन्जाल पिज्जा हट र केएफसी नेपालीलाई अन्तर्राष्ट्रिय स्वाद चखाउन तयार भएका छन् । आइतबार औपचारिक रुपमा उदघाटित फास्ट फूड चेन बुधबारबाट उपभोक्ताहरुका लागि खुला हुनेछ।आरजे क्रप अन्तर्गतको देवयानी इन्टरनेसनलले दरवारमार्गमा सुरु गरेको पिज्जा हट र केएफसी नेपालमा भित्रिएको पहिलो अन्तर्राष्ट्रिय फास्टफूड कम्पनी हो । ‘नेपालीहरु अन्तर्राष्ट्रिय स्वाद लिन तयार छन्' आरजे क्रपका अध्यक्ष रवी जयपुरियाले भने ‘यसको प्रवेशसँगै नेपाल रेष्टुरेन्टका लागि नयाँ युगमा छिरेको छ।'
खाद्यवस्तुको क्षेत्रमा अन्तर्राष्ट्रिय ब्रान्डसहित साचालनमा आएको यो पहिलो रेष्टुरेन्ट हो। यसअघि पेय पदार्थहरु कोकाकोला, पेप्सीकोला, काल्स्रवर्ग, टुवोर्ग आदि अन्तर्राष्ट्रिय ब्रान्डिङ सहित नेपालमा उत्पादन र बिक्री हुँदै आएका छन् । नेपालभित्र ग्लोवल खानपिनको सस्कृति भित्राउने थालनी यी दुई रेष्टुरेन्टबाट सुरु भएको छ । यसले अन्य अन्तर्राष्ट्रिय ब्रान्डहरुलाई नेपालमा फैलिन प्रेरित गर्ने सम्भावना बढेको छ।

‘यसको सुरुवातले अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न संदेश दिएको छ'- केएफसी र पिज्जा हटको बित्तीय साझेदार एनएमबी बैंकका प्रमुख कार्यका अधिकृत उपेन्द्र पौडेलले भने । देवयानी इन्टरनेशनका प्रमुख सुराजन डेले भविष्यलाई हेरेर कम्पनीले नेपालको नयाँ क्षेत्रमा लगानी गरेको बताए।

अन्तर्राष्ट्रिय ब्रान्डको रेस्टुरेन्टमा खानेकुराको मूल्य कति?
केएफसी र पिज्जा हटको मूल्यसूची मध्यमवर्गीय नेपालीले खर्चन सक्ने छ । जस्तो कि ६९ रुपैयाँदेखि यहाँको मेनु सुरु हुन्छ । सबैभन्दा महँगोमा ४ सय रुपैयाँभन्दा कमकै ‘आइटम' छ । फेमेली प्याकको मूल्य त्यही अनुसार औसत नै छ। ‘कुनै पनि मध्यमवर्गीयले यहाँ खान सक्छन्' जयपुरियाले नागरिकसँग भने ‘यसको प्राम्भक रेस्पोन्सपछि हामीले यसलाई अरु ठाउँमा पनि विस्तार गर्नेछौं', उनले अब खुल्ने थप दुई रेष्टुरेन्टहरु काठमाडौंमै रहने र त्यसपछिमात्र अन्य क्षेत्रमा जाने बताए । काठमाडौंमा खोल्ने भनिएका रेष्टुरेन्ट सात महिनासम्ममा तयार हुनसक्ने जानकारी दिए ।

यी दुबै रेष्टुरेन्टको विशेषता छिटो सेवा दिनु पनि हो। केएफसीले ग्राहक पुगेको २ मिनेटमा खान उपलव्ध गराउँछ । यो सेल्फ सर्भिस रेष्टुरेन्ट हो। पिज्जा हटले भने ७ मिनेटदेखि ३० मिनेटभित्र मगाएका सबै आइटम ग्राहकको टेबुलसम्म पुर्याउने दावी गरेको छ ।

No comments:

Post a Comment